गुरु भनेका मार्ग दर्शक हुन् , अज्ञानतालाई हटाउने प्रकाश हुन् । जसरी सुर्यको उपस्थितिमा सारा धर्तीको अन्धकार हटेर जान्छ त्यसैगरी सद्गुरुको सत्संगबाट, समिप्यताबाट शिष्यमा रहेको अज्ञान रूपी अन्धकार हटेर जान्छ । अर्को शब्दमा भन्नुपर्दा गुरु भनेको एना जस्तै हुनुहुन्छ किनभने जसरी एनाको अगाडि जो व्यक्ति उभिन्छ उस्को वास्तविकता जस्ताको त्यस्तै एनाले देखाउने गर्दछ । त्यसैगरी सद्गुरुको सानिध्यबाट र उहाँको मार्गनिर्देशनबाट एउटा शिष्यले आफूभित्रको वास्तविक स्वरूपलाई प्राप्त गर्ने गर्दछ्न् । गुरुको स्वभाव एक पवित्र, कंचन नदिको जस्तो हुन्छ । बर्षाको समयलाई छोडेर हेर्ने हो भने नदिमा कयौं फोहर, ढल, पहिरो मिसिइरहेको हुन्छ तर पनि नदि सफा भएर बगिरहेको हुन्छ प्यासिको प्यास बुझाइरहेको हुन्छ । त्यसैगरी गुरुमा पनि जस्तोसुकै समस्या आपत-बिपत परोस् वहाँको मानसिकतामा कुनै पनि आँच आउँदैन सधैं शान्त र मस्तिमै बाँचिरहनु भएको हुन्छ । जसरी आगोले आफ्नो सम्पर्कमा आउने वस्तुहरु सबैलाई जलाउँदै/पचाउँदै जान्छ त्यसैगरी गुरुको सांसारिक जीवनमा आउने लोभ, डर, अहंकार जस्ता बाधाहरुलाई बोधपूर्वक आफ्नो वशमा राख्न सक्ने अलौकिक क्षमताको विकास भएको हुन्छ । किनकि, गुरुको दृष्टिकोणमा संसारका सबै कुराहरू एक भैसकेको हुन्छ । जब अलगअलग कुराहरूलाई समभावमा देखिन्छ तब समस्या आउनै सक्दैन जताततै द्वेत देख्नु सामान्य व्यक्तिको दृष्टिकोण मात्र हो । गुरुको ज्ञान भनेको सिक्ने र सिकाउने खालको ज्ञान होइन, गुरुको ज्ञान भनेको सुसुप्ती अवस्थामा रहेको हाम्रो अदृश्य शक्तिलाई जगाउने खालको ज्ञान हो । जुन दिन गुरुको ज्ञानले, गुरुको दिशानिर्देशले हामी आफू भित्र रहेको अज्ञानताको अन्धकार हटाई वास्तविक स्वरूपलाई प्राप्त गर्छौं सोही दिनबाट हामी भित्रको गुरु तत्वको जन्म हुन्छ तब हामी पनि गुरु बन्दछौं । गुरुमा धर्म शास्त्रीय ज्ञान नहुन पनि सक्छ र हुनुपर्छ भन्ने पनि छैन किनकि गुरुमा धर्मशास्त्र भन्दा माथिको ज्ञान हुन्छ जस्लाई ब्रह्मम ज्ञान भनिन्छ ।
साधकको स्थान यस धर्तीमा रहेको हुन्छ उस्ले आफ्नो आसपासको दृश्य भन्दा टाढाको दृश्य देख्न सक्दैन तर गुरुको स्थान आकाश माथी रहेको हुन्छ जहाँबाट धर्तीको जुनसुकै कुनाको दृश्य पनि देख्न सकिन्छ । साधकमा धेरै किसिमका कमीकमजोरीहरू रहेको हुन्छ जुन स्वयंले देख्न सक्दैन किनकि उस्मा अझ पनि लोभ, भय र अहंकार विद्यमान हुन्छन् । यीनै लोभ, भय र अहंकारको जालोले छोपेर उस्को चेतना धर्तीबाट उठेर आकाशमा पुग्न सकिरहेको हुँदैन । तर, एक सद्गुरु यी लोभ, भय, अहंकार एवं सम्पूर्ण सान्सारिक बन्धनबाट अलग्गिएर स्वतन्त्र भैसकेका हुन्छन् र त उहाँको चेतना आकाशमय भएको हुन्छ । त्यसकारण त वहाँले साधकका सारा कमी कमजोरीहरू र उल्झनहरू पत्ता लगाई त्यसबाट अलग हुने ज्ञानको मार्ग देखाइदिने गर्नु हुन्छ । त्यसैले गुरुहरुको जीवन अरुको कल्याणमा समर्पित रहेको हामी देख्न सक्छौं । त्यसकारण हामी गुरुलाई सम्पूर्ण दु:ख, समस्याबाट मुक्त गराउने मुक्ति दाता भन्दछौँ । अथवा जिवित भगवानको रूपमा मान्न सक्छौं ।
गुरुको चयन कसरी गर्ने ?
सर्वप्रथम गुरु के का लागि खोजिंदै छ त्यो ठम्याउनु जरुरी छ किनकि जो व्यक्ति मानसिक अशान्तिबाट मुक्तिका लागि, पारिवारिक अशान्तिबाट उन्मुक्तिका लागि, भौतिक उन्नतिको बाटो खोज्नका लागि गुरुको समिपमा आउँछ्न् त्यस्ता व्यक्तिहरूले आफ्नो उद्देश्य अनुरुपको गुरु खोज्नु पर्दछ । जो व्यक्तिले आफ्नो जीवन, केवल सत्यको लागि, केवल ज्ञानको खोजीका लागि र केवल मुक्तिको खोजीमा मात्र लगाएको हुन्छ उसले गुरु खोज्नु भनेको बाहिरी आँखाले देखेको भरमा, अरुले भनेको भरमा होइन गुरुको वास्तविक खोज आफ्नै प्यासको खोज अनुरूप श्रद्धा बलको माध्यमबाट आफ्नो अन्तस्करणको आवाजले भने अनुसार अन्तर दृष्टिद्वारा खोजीयो भने मात्र ढिलो चाँडो एकदिन सहि सद्गुरु प्राप्त गर्न सकिन्छ । तवमात्र सद्गुरुको छत्रछायामा शिष्यको जीवनले पूर्णता प्राप्त गर्दछ ।
हामी शिष्य भनौं अथवा साधकहरु हाम्रो गल्ती कहाँ हुने गर्छ भने सबैभन्दा पहिले हामी मुक्ति बोध भएको गुरुको खोजी गर्ने गर्छौं तर चिन्ने कसरी ? त्यो शिष्यको क्षमता भन्दा बाहिरको कुरा रह्यो । अर्को कुरा मुक्ति बोध भएकै गुरु भेटियोरे के गुरुले नै हो त शिष्यलाई मुक्तिदशासम्म पुर्याइदिने ? कदापि होइन, गुरुले त हामीलाई मुक्तिको बाटोमा हिंड्नका लागि उत्प्रेरणा जगाइदिने हो, अध्यात्मको खोजीको यात्रामा कहिँ कतै लडियो भने उठ्नका लागि समाउने ठाउँ देखाइदिने हो । मुक्तिका लागि साधना र संघर्ष स्वयंले नै गर्नुपर्दछ । अर्को कुरा गुरु महान भएर मात्रै पुग्दैन आफू ती महान गुरुको शिष्य बन्न योग्य छु कि छैन ? आफूमा पात्रता छ कि छैन ? त्यो भने पहिचान गर्दैनौं । यदि आफ्नो भाँडोमा प्वाल परेको छ भने समुन्द्रैबाट पानी उबाय पनि कहाँ प्राप्त गर्न सकिन्छ र ! तसर्थ महान गुरु खोज्नु त पर्छ तर गुरु खोज्नु अगाडी आफू शिष्य बन्न लाएकको हुनुपर्दछ । किनकि शिष्यमा गुरुले जे कुरा सिकाउनु भयो त्यही कुरा बुझ्न सक्ने खुबी हुनुपर्दछ । यदि शिष्यमा त्यो खुबी भएन भने गुरुले सिकाउनु भएको कुरालाई गलत अर्थ लगाएर बुझ्यो भने गुरुले दिनुभएको ज्ञानको कुनै अर्थ रहँदैन तसर्थ जति गुरु फेरे पनि नराम्रो विचार धारा, पुरानै संस्कार बोकेको आफ्नो मन फेर्न सकिएन भने शिष्यको कल्याण असम्भव हुन्छ । यदि शिष्यमा गुरुको ज्ञान बुझ्न सक्ने क्षमता भएन भने एक पछी अर्को गुरु फेर्ने क्रम शुरु हुन्छ । शिष्यको मनमा अनेक विचारहरु चल्न थाल्छ । जस्तै – अहिले म जुन गुरुको साथमा छु वहाँबाट मेरो मुक्तिको मार्ग खोल्न असम्भव छ, किनकि यत्तिका समय भैसक्यो मैले ज्ञान पाएकै छैन, अरुले देख्ने गरि म मा परिवर्तन आएकै छैन, गुरुकै ज्ञान कमजोर छ कि क्या हो भन्दै जीवनभर गुरुको खोजी गर्दै यो जन्म बर्बाद गर्दछन् ।
मुक्तिका प्यासीका लागि गुरु महान भएर पुग्दैन सबैभन्दा ठूलो र महत्त्वपूर्ण भूमिका आफूमा निहित हुन्छ भन्ने कुरा प्रष्ट पार्नको लागि एउटा उदाहरण राख्न चाहन्छु । जेन बुद्धिजमका साधक बान्झान् बौद्ध धर्मबाट दीक्षित थिए । उनको खोज नै ज्ञानको, मुक्तिको भनौं अथवा सत्यको थियो । उनले धेरै गुरुहरुलाई सुने, अनेकौं ग्रन्थहरु पढेर भ्याए, अनेकौं ध्यान-साधना गर्दै रहे तर पनि उनलाई ज्ञान प्राप्त भएन । एकदिनको कुरा हो उनी आफ्नो साधना सकेर भिक्षा पात्र बोकेर भिक्षाटनका लागि गाउँमा छिर्छन् उनी हिंड्दै गर्ने क्रममा एक मासु पसल अगाडि पुग्छ्न् । त्यहाँ एक कसाई र ग्राहक बीच संवाद भैरहेको भिक्षुले सुन्छन् । ग्राहकले भनिरहेका थिए कि मलाई सबैभन्दा राम्रो राम्रो मासुको पिसहरु राखिदिनुहोला त्यसको बदलामा कति पैसा लिनुहुन्छ म दिन तयार छु । अनि पसलेले अर्थात कसाइले भन्छन् , हेर्नुस् महासय यहाँ भएको मासुका पिसहरु सबै एक सय एक राम्रा छन् तपाईं ढुक्क हुनुस् यो पसलको मासु सबै उत्कृष्ट छन् । याद राख्नुस् यहाँ चलिरहेको संवाद न कुनै बुद्ध पुरुषको संवाद थियोे, न कुनै महान गुरुको वाणी थियो, न कुनै धर्म शास्त्रको शिक्षा थियो, न कुनै दार्शनिकको बचन थियो, यो त सामान्य व्यक्ति भनौं या कर्मले कसाई भनौं उनी र ग्राहक बिचको संवाद थियोे । जब कसाइको वचन भिक्षुको कानमा छिर्छ त्यतिकैमा उनको हातबाट भिक्षा पात्र भुइँमा खस्छ यस अवस्था सम्ममा भिक्षु मुक्त भैसकेका थिए । अर्को शब्दमा भन्नुपर्दा उनले ज्ञान प्राप्त गरिसकेका थिए, किनकि उनले बुझे संसारमा सबै एक रहेछ राम्रो र नराम्रो छुट्याउने काम त आफ्नो दृष्टिकोणले रहेछ त्यसकारण सबै समान हो भनेर बुझ्नासाथ उनिमा परिवर्तन आयो जुन परिवर्तनले बुद्ध बचन पढ्दा पढ्दा, साधना गर्दा गर्दा मुक्त नभएका यी भिक्षु कसाइको एउटै बचनबाट मुक्त भए । त्यसकारण यदि योग्य शिष्यमा हुनुपर्ने गुण आफूमा बनाउन सकियो भने त्यो शिष्यले गुरु खोज्नै पर्दैन गुरुले नै शिष्यलाई भेटाउनु हुनेछ । हामीलाई सर्वविदितै छ भगवान गौतम बुद्धले पनि जो व्यक्ति सत्यका प्यासी छन्, मुक्तिको खोजीमा छन् उनिहरुलाई आफ्नो ध्यान दृष्टिबाट पत्ता लगाई स्वयं गएर ज्ञान उपदेश दिई उनिहरुलाई मुक्तिको बोध गराउनु हुन्थ्यो । त्यसै गरी रामकृष्ण परम हंसले पनि आफ्ना शिष्य विवेकानन्दलाई स्वयंले भेटेर शिष्य बनाउनु भएको थियो ।
गुरुको आवश्यकता किन ?
सबै मानिस जन्मँदै आध्यात्मिक हुन्छन् तर समाजमा आइसकेपछि समाजका अनेकौं संस्कार, नीति-नियम र परिधिले गर्दा आफ्नो स्वभाव छोपिन गई समाजको स्वभावमा बाँच्न थाल्छौं अनि हामी आफ्नो पहिचानमा होइन परिवार र समाजको पहिचानमा बाँचिरहेका हुन्छौं । जब हामी विभिन्न परिवेश, समय र घटनाहरूका कारण भौतिक संसार प्रतिको मोह घट्दै वितृष्णा जाग्न थाल्छ तब हामी अध्यात्मको शरणमा पुग्छौं । अर्थात शान्तिको खोजीमा, ज्ञानको खोजीमा र मुक्तिको खोजीमा लाग्छौं । यस्तो अवस्थामा एउटा सद्गुरु प्राप्त भयो भने त्यस पात्रको जीवन भरका सारा खोज मात्र नभई जन्मौं जन्मदेखिको जन्म र मृत्युको बन्धनबाट पनि मुक्त हुन्छ । त्यसकारण हाम्रो जन्मको उद्देश्य पूरा गर्नका लागि एक सद्गुरुको आवस्यकता पर्दछ ।
कस्तो हुनुपर्छ शिष्यको मनस्थिति ?
शिष्यमा ज्ञानको खोजीको कालमा विभिन्न किसिमका भौतिक तथा मानसिक उतारचढावहरू आउन सक्छन् । कतिपय समयमा गुरुले शिष्य प्रती गरेको व्यवहारमा शिष्यलाई शंका उत्पन्न हुनसक्छ, मेरो गुरु मेरो खोज अनुरूपको हुनु भएन कि ! भन्ने जस्ता शंकाहरू उत्पन्न हुनसक्छ किनकि गुरुले शिष्यको क्षमता विकासका लागि विभिन्न परिक्षाहरु लिने गर्नुहुन्छ जुन शिष्यले नबुझेको हुनसक्छ ।
शिष्यहरूमा सहनशीलताको विकास होस् , समभावको दृष्टि खुलोस् , सत्यलाई जान्न सक्ने क्षमताको विकास होस् भन्ने करुणा भाव गुरुमा रहेको हुन्छ । जस्ले गर्दा गुरुले दिनुभएको एक एक परिक्षा शिष्यलाई आध्यात्मिक उन्नतिको सिंढी बनीरहेको हुन्छ । गुरुले आफूले दिएको ज्ञानलाई शिष्यको अनुभवमा उत्रियोस् उस्को व्यवहारमा आवोस् भनी अनेकौं किसिमबाट सिकाइ रहनु भएको हुन्छ। जुन शिष्यले बुझ्नै सकिरहेको हुँदैन ।
संसार छोडेर गुरुको साथमा रहेर पनि अझै तुच्छ तुच्छ सांसारिक कुराहरूमै अल्झेर बसिरहेका हुन्छन् । गुरुले अनेकौं माध्यमबाट शिष्यलाई पाथेयको ज्ञान दिने गर्नुहुन्छ जस्ले गर्दा शिष्यको जीवन पनि संसारको लागि अनुकरणीय बनोस् । त्यसकारण शिष्यले आफूमा उत्पन्न भएका शंकाहरुलाई यो मेरो मनको भ्रम हो भन्ने जानेर गुरुका एक एक शब्दलाई गुरु मन्त्र मानी उहाँको आदेश पालना गर्नुलाई आफ्नो साधना ठानेर गुरु प्रति श्रद्धा, भक्ति र उहाँको ज्ञानमाथि विश्वास गरेर आफ्नो साधनालाई अगाडि बढाउने हो भने अवस्य नै एकदिन आफ्नो खोज प्राप्त हुन्छ । आफूलाई बदल्नको लागि, आफ्नो वास्तविक स्वरूपलाई प्राप्त गर्नको लागि साधना कालमा कत्तिको कडा साधना गर्नुपर्छ, कति सहनशील बन्नुपर्छ भन्ने कुरालाई यस प्रसङ्गबाट थप प्रष्ट पार्न सकिन्छ । जसरी एउटा फलाम सुरुमा कच्चापदार्थको अवस्थामा रहेको हुन्छ उस्ले आफ्नो वास्तविक स्वरूपमा पुग्नको लागि कुनै न कुनै स्वरूपमा परिणत हुनुपर्ने हुन्छ । एउटा फलामलाई कुनै स्वरूपमा लैजानु छ भने त्यस फलामलाई लोहारले मस्तसँग आगोमा पोल्ने गर्दछ त्यतीले मात्र नपुगेर सयौं, हजारौं पटक घनले कुट्दै पानी लगाउँदै अन्तमा एउटा स्वरूपमा परिणत गर्दछ। यदि सो फलाम बदलिन योग्य छैन भने लोहारको चोट सहन नसकेर बेलैमा टुटेर जान्छ । जस्ले हजारौं चोट सहन तयार हुन्छ उसैले नयाँ जिन्दगी, नयाँ स्वरूप प्राप्त गर्दछ ।
त्यसैगरी साधकले पनि साधना कालमा आउने विभिन्न खालका मानसिक एवं भौतिक उथलपुथललाई सहन सक्यो, देख्न सक्यो, बुझ्न सक्यो भने मात्र उस्ले आफ्नो वास्तविक परिचय प्राप्त गर्दछ ।
केवल प्रपन्च मात्र नभई अन्तर्वोधसहितको अर्थपूर्ण लेख रहेको छ ।यहि त हो “गुरुको एक -एक ज्ञान शिष्यमा सर्न थाल्दछ”भनेको।हार्दिक बधाई छ है!🌹🌹💜💜श्रध्येय लेखक महोदय ।👏👏
अति सुन्दर लेख गुरु जी, आस्था श्रद्दा भक्ति हुनुपर्दछ गुरु कस्तो ? कत्रो ? हुनुहुन्छ भन्दापनी पात्रता हुनुपर्दछ शिष्यमा अनि सहनशीलता हुनुपर्दछ उदेश्य प्राप्तिको लागी भन्ने कुरा स्पस्ट पार्नुभएको छ अति सुन्दर ब्याख्या गुरुदेब।
10 comments
Laxmi
July 24, 2021 at 1:37 am
wow अदभूत लेख 🙏 गुरुको महिमा अपरम्पार 🙏🙏
Bhupendra Bista
July 24, 2021 at 1:43 am
Mind blowing example , I found here the true meaning of life via realistic charm of “Guru”
Laxman Aryal
July 24, 2021 at 3:32 am
Wow
Gambhir Shrestha
July 24, 2021 at 4:40 am
अत्यन्त राम्रो ब्याख्या छ पुर्ण आनन्द जी।गुरु पुर्णिामा को पावन दिन मा गुरुदेब लाई नमन।🙏🌺🌺
Kaluram Chaudhary
July 24, 2021 at 4:44 am
लेख राम्रो छ । पुर्ण आनन्द जी ।
Radha rawal kunwar
July 24, 2021 at 7:00 am
Jay Gurudev hajurko dibbya wodhile dhanne xa u 🙏🙏❤️jayhoss…
sirjana regmi
July 24, 2021 at 7:26 am
केवल प्रपन्च मात्र नभई अन्तर्वोधसहितको अर्थपूर्ण लेख रहेको छ ।यहि त हो “गुरुको एक -एक ज्ञान शिष्यमा सर्न थाल्दछ”भनेको।हार्दिक बधाई छ है!🌹🌹💜💜श्रध्येय लेखक महोदय ।👏👏
Mandira dahal ,dhungana
July 24, 2021 at 12:02 pm
Wow yekdami man xune bhanai prastut gariso 😍😍 malai pani guruvar saga betera aasirwad lina dherai man xa tara mero bachha sanai bhayera aauna mileko xaina tara malai purna biswas xa mero sapana yekdin pura hunxa bhanera😍😍😍
गोबिन्द न्यौपाने
July 25, 2021 at 11:26 am
अति सुन्दर लेख गुरु जी, आस्था श्रद्दा भक्ति हुनुपर्दछ गुरु कस्तो ? कत्रो ? हुनुहुन्छ भन्दापनी पात्रता हुनुपर्दछ शिष्यमा अनि सहनशीलता हुनुपर्दछ उदेश्य प्राप्तिको लागी भन्ने कुरा स्पस्ट पार्नुभएको छ अति सुन्दर ब्याख्या गुरुदेब।
Toran
September 11, 2021 at 5:30 am
Katti ramro lekhnuvayeko !!! Dherai dherai dhanyabaad. Jayhos.